नेपाल प्रेस युनियनको आयोजनामा भएको ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया सम्मेलन २०२५’ तीन मुख्य विषय लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु संकटमा केन्द्रित भई २० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । वैशाख २७ गते शनिबार काठमाडौंमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गरेर सुरु भएको सम्मेलन पोखरा हुँदै लोमान्थाङमा पुगेर मङ्गलबार सकिएको हो ।
प्रेस युनियनका अध्यक्ष शिव लम्सालका अनुसार सम्मेलनले लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु परिवर्तन मुख्य तीन विषयमा केन्द्रित भएर सम्मेलन आयोजना गरिएको थियो।
लोकतन्त्र विकासको अपरिहार्य आधार भएकाले राजनीतिक दलहरू, पत्रकारिता र नागरिक समाजबीचको सहकार्यले लोकतन्त्रलाई प्रभावकारी बनाउन मद्दत पुर्याउँछ भन्दै अध्यक्ष लम्सालले स्थानीय मिडिया प्रणालीलाई सुदृढ बनाउन र लोकतन्त्र तथा प्रेस स्वतन्त्रताको रक्षा गर्न आवश्यक रहेको बताउनु भयो ।
घोषणा पत्रमा जलवायु संकटलाई क्षेत्रीय र विश्वव्यापी चुनौतीको रूपमा स्वीकार गर्दै यसले जीवन, जीविकोपार्जन र मानव अधिकार, विशेष गरी अभिव्यक्ति स्वतन्त्रता र सूचनामा पहुँचमा पारेको प्रभावलाई जोड दिएको छ । पर्यावरणमैत्री, समावेशी र दिगो विकास नीति, योजना र पूर्वाधारका लागि आह्वान गर्दै सञ्चार क्षेत्र, राजनीतिक नेतृत्व लगायत सबैले जलवायु कार्यलाई प्राथमिकता दिन आग्रह गरेको छ ।
सूचित समाजले मात्र जलवायु संकटको प्रतिकार गर्न सक्ने भएकाले सूचनामा पहुँच र पारदर्शितालाई जोड दिइएको छ । घोषणापत्रले सांस्कृतिक र प्राकृतिक सम्पदाले समृद्ध मुस्ताङमा जलवायु परिवर्तनका कारण उत्पन्न विशिष्ट चुनौतीहरूलाई पनि उजागर गर्दै समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको छ । सम्मेलनको अवसरमा मुस्ताङमा जलवायु परिवर्तनका गम्भीर प्रभावहरूबारे छलफल गरिएको थियो । नेपाल–चीनबीचको कोराला ट्रान्जिट प्रवेश बिन्दुको सहज सञ्चालन र कालीगण्डकी करिडोरको निर्माण पूरा गर्न संघीय सरकारको समेत ध्यानाकर्षण गरेको प्रेस युनियन गण्डकी प्रदेश अध्यक्ष टंक अधिकारीले बताउनुभयो । यसैगरी, मुक्तिनाथ, दामोदर कुण्ड र कैलाश मानसरोवरबीच जडान स्थापना गरी सांस्कृतिक र धार्मिक पर्यटन प्रवद्र्धन गर्न पनि आह्वान गरेको छ । लोकतन्त्र, मिडिया स्वतन्त्रता र पर्यावरणीय दिगोपनलाई अन्तरसम्बन्धलाई सम्बोधन गरेर शिखर सम्मेलनले विश्वव्यापी चुनौतीहरूको समग्र समाधानका लागि नयाँ आधार तय गरेको छ ।
सम्मेलनमा भारत, भुटान, बंगलादेश, श्रीलंका, बुलगेरिया लगायत देशका पत्रकारको सहभागीता रहेको थियो । समिटिमा करिब एक सय १४० स्वदेशी तथा विदेशी पत्रकारको सहभागिता रहेको प्रेस युनियनका महासचिव दिलीप पौडेलले बताउनुभयो। सम्मेलनमा लोकतन्त्र, प्रेस स्वतन्त्रता, डिजिटल प्रविधि, एआई र जलवायु संकटका विषयमा घनिभूत छलफल गरेर धारणा सार्वजनिक गरिएको महासचिव पौडेलले जानकारी दिनुभयो ।