भीरकोटको ग्रामीण परिवेशमा हुर्कनुभएका तुलसीराम खनालको बाल्यकाल अभाव र संघर्षमा बितेको थियो । घरमा आम्दानीको स्रोत नै थिएन । आमाले खाइ नखाई दु:ख गरेर विद्यालय तहसम्म गाउँमा नै पढाउनुभयो । गाउँको पढाइ सकिएपछि खनालका संघर्ष र चुनौतीका पहाड अग्लदै गए । पढाइलाई निरन्तरता दिनु र यसका लागि आवश्यक खर्च जुटाउनु उहाँको मुख्य चुनौती थियो । घरको पारिवारिक स्थिति थाहा पाउनुभएका उहाँ आमालाई समेत नभनी घरबाट भागेर भारत पुग्नुभयो आफ्नो पढाइ खर्च जुटाउन । अन्य जागिर नपाएपछि उहाँले भाँडा माझ्ने काम गर्नुभयो ।
तुलसीराम तीन महिना काम गरेर नेपाल फर्किनुभयो । हातमा अलिअलि पैसा थियो । यसपछि वालिङ क्याम्पसमा आइए पढ्न थाल्नुभयो । ३ महिना कमाएको पैसाले पुग्ने कुरै भएन l ऋण लिएर भएपनि आइएको पढाइ पूरा गर्नुभयो । परीक्षा दिएर पढाइ खर्च जुटाउन फेरि भारततर्फ नै लाग्नुभयो । केही समय काम गरेर उनी नेपाल फर्किएपछि स्नातक तह पढ्न थाल्नुभयो । ‘ब्याचलर पढ्न थालेसँगै मैले शिक्षण पेशा पनि गरेँ । त्यसपछि अलि राम्रो हुन थाल्यो,’ उहाँले विगत सम्झिनुभयो , ‘यसबीचका धेरै दिन चिउरा र पानी मात्र खाएर बसेको अनुभव पनि मसँग छ ।’ सो तह उतीर्ण गरेपछि हातमा परेको शैक्षिक प्रमाण प्रत्रले उहाँलाई आफ्ना दिन फेरिन थालेको महसुस भयो ।
२०५९ फागुन २९ गते आफ्नै बिहेको जन्ती बोकेको बस दुर्घटनामा पर्यो l धेरै जना हताहत भए l उहाँ आफैंलाई समेत गम्भीर चोट लाग्यो l केही प्रियजन दुर्घटनामा दिवंगत हुनुभयो l यो पीडाका बिचमा २०५९ फागुन ३० गतेको गोरखापत्रमा उहाँले आफ्नै मृत्युको खबर पढ्नुभयो l २०५९ फागुन ३० लाई उहाँले पुनर्जन्मको दिनका रूपमा लिनुहुन्छ l यस्तो दर्दनाक परिस्थितिबाट माथि उठेर पनि उहाँले पढाइलाई निरन्तरता दिनुभयो l त्यसपछि उहाँ पढ्नकै लागि भनेर काठमाडौं पुग्नुभयो । शिक्षा र नेपाली दुवै विषयमा स्नातकोत्तर गर्नुभयो ।
भीरकोटका पाखा पखेरामा लोक भाका सुनेर हुर्किनुभएका खनाललाई सानैदेखि संगीतमा रुची थियो । आमाहरूले र बूढापाकाले घाँस काट्दा, मेलापर्म गर्दा गाउने गीतमा रमाउदै लुब्दिखोला , गोदीखोला र आँधीखोलाको सेरोफेरोमा हुर्किनुभएका खनाललाई बाल्यकालमा सबै भन्दा बढी आनन्द वनपाखा र मेलापातमा गुञ्जने लोकभाकाले दिन्थ्यो । ‘बाल्यअवस्थाबाट नै एक खालको प्रभाव मलाई परिरह्यो । मेरै आमा पनि गीत गाउनुहुन्थ्यो । खेतमा काम गर्दा, कोदो गोड्दा वा घाँस काट्दा होस् । उहाँहरूले गाएको गीत सुनेपछि मलाई प्रभाव परिहाल्थ्यो,’ उहाँले बाल्यकालको स्मृतिमा हराउनुभयो । संगीतप्रतिको रस यसरी बस्यो कि तुलसीरामले आफ्नो स्नातकोत्तर र विद्यावारिधि (पीएचडी) लोकसंस्कृतिमा गर्नुभयो ।सुरुमा स्याङ्जा क्षेत्रमा मात्र सुनिने भाका उहाँले अध्ययन गर्नुभयो । त्यसपछाडि उहाँले लोक संस्कृति उत्खननको यात्रालाई निरन्तरता दिनुभयो I त्यसपछि तुलसीरामको जिन्दगीको मोड बदलियो । संगीतको रस यसरी बस्यो कि, उहाँलाई त्यसैले तान्यो । ९ जिल्ला पुगेर आफूले लोक संस्कृतिको रस बुझेको बताउँनुहुन्छ उहाँ । ‘नेपाली खेली गीतमा रस विधान’मा उनले पीएचडी गर्नुभायो । प्रयोग गर्ने भाषाका कारण जुन थोरै विवादित पनि बन्यो । ‘रोइला’ भनेर प्रचलनमा रहेको गीतलाई उहाँले खेली भएको निष्कर्ष निकाल्नुभयो । ‘रोइला भन्ने शब्द अलिकति हेपेर भन्न खोजेको हो खास । जुन क्षेत्र आँधीखोला र पर्वतको पैयूँमा यी गीतहरू प्रचलनमा छन् त्यहाँका बूढापाका यी गीत रोइला होइन खेली हुन् भन्छन् । त्यही निष्कर्षमा पुगेर मैले पीएचडी पूरा गरेको छु,’ उहाँले प्रष्ट पार्नुभयो ।
सेनामा भर्ती हुने चलन स्याङ्जाका अधिकांश क्षेत्रमा छ । गीतमा रम्ने गाउँले त्यसैमार्फत विरह पोख्थे । लाहुर गएको लोग्ने वा छोरालाई गीतमार्फत् सम्झिन्थे ।
‘गल्लै लागुरेले
रल्लै पार्यो दाइ मलाई
झम्टी रुन आ'को
सम्झी रुन उहीँ थियो ’
स्याङ्जा र पर्वतको सेरोफेरोमा गाइने यो गल्लैलाउरे गीत प्रथम र दोस्रो विश्वयुद्धदेखि गाउन शुरू भएको उहाँको अध्ययनको निष्कर्ष छ । त्यसभेगबाट विशेषत: भर्ती हुन जाने चलन थियो । भर्तीमा जनजाति समुदायले प्राथमिकता पाउँथे । तर, गल्लै लाउरेका गीत यी बाहेकका समुदायमा प्रचलनमा थियो । उहाँ आफैँ यसमा केही विवाद रहेको बताउनुहुन्छ । ‘यसमा एउटा कन्ट्याडिक्सन छ । यो गीत गुरुङ–मगरमा भन्दा बाहुन–क्षेत्रीमा बढी प्रचलनमा छ । हाम्रो समाज मिश्रित समाज भएकाले यसलाई धेरै अनौठो मान्न मिल्दैन । जे होस् विरहमा परेको आवाज यो गीतले भनेको छ,’ उहाँको बुझाइ छ ।
पीएचडी गर्न हिँड्नुअघि तुलसीरामले गण्डकी भेगका यस्तै अरु थुप्रै नयाँ गीत र भाका सुन्नुभयो । जसले उहाँलाई थप यसैमा अध्ययन गर्न डोर्यायो । यसपछि उहाँ ‘जातीय, सामाजिक र सांस्कृतिक अनुसन्धान’मा पनि काम गर्न थाल्नुभयो । "मगरको आफ्नै र गुरुङको आफ्नै गीत हुन्छ । नामै नसुनेका कैयौं गीत भेटिइसकेपछि मलाई यो खेली गीतमात्र खोजेर हुन्न भन्ने लाग्यो । यसर्थ मैले लोकसंस्कृतिको उत्खननलाई नै आफ्नो जीवनको अभिन्न लक्ष्य बनाएँ I" खनालले बताउनुभयो l
लोक संस्कृतिको उत्खननमा रमाउने उहाँले हालसम्म विभिन्न १२० जातजातिको अध्ययन गरिसक्नुभएको छ l उहाँले अध्ययन गरेका सामग्रीहरूको डिजिटल प्रस्तुति साभ नेपालको युट्युब च्यानलामा उपलब्ध छन् l गण्डकी प्रदेशका जातिका गीत, नाँचगान र बाजागाजाबारे उहाँले स्थलगत रुपमै अध्ययन गर्न भ्याउनुभएको छ I
‘नेपाललाई संसारमा केही कुरा चिनाउने भनेको कि प्रकृतिले हो, कि संस्कृतिले हो । यहाँको संस्कृतिमा जातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधता छ । यहाँ हरेक जातिका आ–आफ्ना संस्कृति छन् । नेपालमा संस्कृतिको क्षेत्रमा राम्रो अनुसन्धान भएको छैन । मलाई यही कुराले यो क्षेत्रमा आकर्षित गर्यो,’ उहाँ भन्नुहुन्छ ।
‘आगोको रापमा सुन खारिएझैं , मान्छे संघर्षले खारिनुभएका उहाँले लोकसंस्कृतिको अध्ययन अनुसन्धानलाई नै सघाउने अर्को पाटो स्थानीय पाठ्यक्रम लेखनमा पनि हात हाल्नुभयो l गण्डकी प्रदेशका अधिकांश स्थानीय तहका पाठ्यक्रम र पाठ्यपुस्तक लेख्नुभएका उहाँले विद्यार्थी उत्प्रेरणा र अभिभावक शिक्षालाई पनि जोडेर काम गरिरहनु भएको छ l नेपालमा खुशी पाठयक्रम लागू गर्न संघर्ष गरिरहनुभएका उहाँ शैक्षिक उन्नयन र सामाजिक रुपान्तरणको क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ l
‘हामीले नयाँ पुस्तामा पनि हाम्रो संस्कृति चिनाउनुपर्छ । परम्परा चिनाउनुपर्छ । हाम्रो ठाउँ चिनाउनुपर्छ । स्थानीय पाठ्यक्रममा आधारित किताबमा हामीले त्यस स्थानका पर्यटकीय स्थान, मठमन्दिर, जडिबुटी र संस्कृति पढाउँछौँ,’ उहाँले थप्नुभयो , ‘शिक्षा पहिलो प्राथमिकता हो । सँगै पढाइमार्फत संस्कृति पनि बचाउने हो ।’
उहाँले गण्डकी प्रज्ञा प्रतिष्ठानमा अनुसन्धान विज्ञका रूपमा रहेर पनि काम गर्नु भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड एवम अन्य धेरै वाङ्मयिक सस्था मार्फत ४० वटा भन्दा बढी लघु अनुसन्धान सम्पन्न गर्नुभएको छ त्यसैगरी स्थानीय तहसङ्गको सहकार्यमा विभिन्न जातजातिको सामाजिक -सांस्कृतिक अनुसन्धानका कामहरू गरिरहनु भएको छ ।
विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सेमिनारमा नेपालको प्रतिनिधित्व गर्दै लोकसंस्कृतिबारे उहाँले प्रतिनिधित्व गर्नुभएको छ । उहाँको यस योगदानका लागि विभिन्न शैक्षिक, प्राज्ञिक संस्था र स्थानीय, प्रदेश र संघीय सरकारले सम्मानसमेत गरेका छन् ।
आफूलाई सङ्घर्षको पर्याय मान्नुहुने उहाँ भन्नुहुन्छ - "दु:ख नभोगेको मान्छे व्यवहारिकतामा परिपक्व हुन सक्तैन । "