नयाँ शैक्षिक सत्रको सुरुवातसँगै अभिभावकहरुबिच कहाँ र कुन विद्यालयले राम्रो शिक्षा प्रदान गर्छ भन्ने बारेमा चर्चा र बहस हुन्छ।जुन स्वभाविक पनि हो।हाम्रो पालामा कक्षा उत्तिर्ण भएपछि बा आमाले फलानो दाइ वा दिदीको किताब लिन जा! नयाँ नै छन रे गाता हाले हुन्छ।उनीहरु पास भएका छन्, ती किताब पढेपछि तँ नि सजिलै पास हुन्छन् भन्नु हुन्थ्यो।पढिरहेको स्कूलमा भर्ना गराएर एक जोर पोशाक किनिदिनु हुन्थ्यो।पुरानै किताब भएपनि प्लास्टिकका गाता हाल्ने र एकपटक नेपाली विषयमा रहेका कथा पढने गरिन्थ्यो।अहिले जस्तो हाम्रा अभिभावकले कहाँ राम्रो पढाइ हुन्छ,गुणस्तरीय शिक्षा के हो भन्ने बारेमा चर्चा गरेको मलाई थाहा भएन।हुनसक्छ सहरबजारका शिक्षित अभिभावकहरुमा यस्तो कुरा चल्थ्यो होला। हाम्रा बा आमालाई के थाहा थियो भने घोकन्ते विद्या धावन्ते खेती,पढ्ने स्वयंले हो।स्कुलका गुरुहरु कहिले काही बाटोमा भेटेमा बाआमाले भन्नुहुन्थ्यो रे “पिटेर कान बटारेर पढाउनुहोला है मास्टर साब”।
विज्ञान र प्रविधिको विकास र बिस्तारसँगै विश्व परिवेश बदलिएको छ।दिनानुदिन ज्ञानको विष्फोट भइरहेको छ।आम अभिभावकहरुको सोच र चेतनाको स्तर बढिरहेको छ।भुमण्डलीकरणले(Globalization) विश्व साँघुरिदै छ। अब कुनै देशको नागरिक त्यो देशको मात्र रहेन, विश्वको नागरिक बनिसक्ने अवस्था आइसक्यो।
आम अभिभावकहरुको बुझाइमा राम्रो/ गुणस्तरीय शिक्षाको सुनिश्चितता नाम चलेका र महङ्गा भनिएका, घरपायक भन्दा टाढाका शिक्षण संस्थाहरुले प्रदान गर्छन् जहाँ पूर्ण रुपमा अंग्रेजी माध्यमबाट पढाइ हुन्छ।
सचेत अभिभावकले आफ्ना बालबालिकाहरुलाई विश्व परिवेश सुहाउँदो सक्षम नागरिक बनाउन चाहनु स्वभाविक हो।त्यसकारण राम्रो शिक्षा वा गुणस्तरीय शिक्षाको चर्चा र बहस सर्वत्र छ आजकल। तर आम अभिभावकहरुको बुझाइमा राम्रो/ गुणस्तरीय शिक्षाको सुनिश्चितता नाम चलेका र महङ्गा भनिएका, घरपायक भन्दा टाढाका शिक्षण संस्थाहरुले प्रदान गर्छन् जहाँ पूर्ण रुपमा अंग्रेजी माध्यमबाट पढाइ हुन्छ।शिक्षणसंस्थाको नाम पनि अंग्रेजी भाषामा राखिएको हुन्छ।जहाँ निश्चित पोशाक र आचारसंहिता लादिन्छ।एस.इ.ई.तथा अन्य परीक्षाको नतिजामा धेरै विद्यार्थीहरुले उच्च जि.पि.ए. ल्याइने बनाइन्छ,तिनैको नतिजाको प्रचार प्रसार गरिन्छ,अभिभावकको मन जितिन्छ।
या भनौ राम्रो/ गुणस्तरीय शिक्षा प्रदान गर्ने निश्चित शिक्षण संस्था छन्!जसको सम्बन्धन विदेशी स्कुल वा विश्वविद्यालयसँग छ वा उनीहरुले ए लेवल, ओ लेवलको पढाइ गर्छन्।जसले विद्यार्थीहरुलाई पश्चिमी सभ्यता,रहनसहन,संस्कृति आदिसँग परिचित गराउछन्। नेपालमा केही छैन, यो देश खतम भइसक्यो, अबको बालबालिकाको गन्तव्य युरोप, अमेरिका, अष्टेलिया,जापान र कोरिया हो भन्ने भाष्यले गुणस्तरीय शिक्षाको वास्तविक अर्थलाई ढाकिरहेको छ जस्तो लाग्छ मलाइ।यस्तै यस्तै…भ्रममा गाउँ बस्ती रित्तिदै छन्।शहरबजार वातावरणीय र सांस्कृतिक रुपमा प्रदुषित हुँदै गएका छन्!
जुन शिक्षाले व्यक्तिको अन्तरनिहित प्रतिभाको विकास गर्दै आधुनिक विश्वपरिवेश अनुकुलको ज्ञान, सीप, अभिवृत्ति र दक्षता प्रदान गर्दै व्यक्तिलाई सुखी, खुशी, नैतिकवान, चरित्रवान, स्वाबलम्बी, बनाउछ त्यस्तो शिक्षालाई गुणस्तरीय शिक्षा मान्न सकिन्छ।
हुन त गुणस्तरीय शिक्षाको निश्चित र सर्वमान्य परिभाषा पाउन कठिन छ।हरेक शिक्षण संस्थाले गुणस्तरीय र प्राविधिक शिक्षालाई आफ्नो आदर्श नारा बनाउछन्।आम अभिभावकहरु पनि अन्योलमा छन्-कस्तो हो राम्रो शिक्षा? कसले प्रदान गर्छ? भलै गुणस्तरीय शिक्षाको अवधारणा बारेमा शिक्षाविदहरुमा पनि एकरुपता छैन्।उनीहरुका आ-आफ्नै विचार छन्। ठाँउ,परिवेश,समय,समाज र देशको अवस्था अनुसार यसका मानकहरु पनि भिन्न भिन्न हुनसक्छन्।तथापी सामान्यत जुन शिक्षाले व्यक्तिको अन्तरनिहित प्रतिभाको विकास गर्दै आधुनिक विश्वपरिवेश अनुकुलको ज्ञान, सीप, अभिवृत्ति र दक्षता प्रदान गर्दै व्यक्तिलाई सुखी, खुशी, नैतिकवान, चरित्रवान, स्वाबलम्बी, बनाउछ त्यस्तो शिक्षालाई गुणस्तरीय शिक्षा मान्न सकिन्छ। गुणस्तरीय शिक्षाले बालबालिकामा सिकाइ प्रतिको मोह पैदा गर्ने,प्रश्न र तर्क गर्न सक्ने,समस्या समाधान गर्न सक्ने,समाजका विविधतालाई स्वीकार र सम्मान गरि असल नेतृत्व प्रदान गर्न सक्ने,म होइन हामी भन्ने भावनाको विकास गर्ने,व्यक्तिमा हुने असिमित संभावनालाई उजागर गर्न सक्नु पर्छ।माथिका सर्त र मापदण्डहरुको सुनिश्चिता गर्न र गराउन सकेमा जुनसुकै शिक्षणसंस्थाबाट पनि गुणस्तरिय शिक्षा सम्भव छ।
हुन त गुणस्तरीय शिक्षाको सुनिश्चितता आफैमा चुनौतिपूर्ण छ किनभने यसलाई विभिन्न पक्षहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपले प्रभाव पारिरहेका हुन्छन्।जस्तै विद्यार्थीको पारिवारिक वातावरण, समाज, शिक्षक, शिक्षण विधि, प्रविधि, देशको शिक्षा नीति, शिक्षा प्रणाली, पाठयक्रम, मूल्यांकन, सिकारुको व्यक्तित्व, अभिभावकहरुको चेतना र चासो,देशको सामाजिक राजनीतिक अवस्था आदि।
बदलिदो समय अनुसार शिक्षाका कार्यहरु पनि बृहत र जटिल बन्दै गइरहेका छन्।समाजले शिक्षा र शिक्षणसंस्थाहरुबाट ठुलो अपेक्षा राखेको छ।हाम्रा बालबालिका किताब छोडेर मोबाइल,ट्याब र ल्यापटपमा झुम्दै गर्दा, ए.आई.ले विश्वको हरेक क्षेत्रलाई प्रभावित पार्दै गर्दा अबको हाम्रो शिक्षणसिकाइ क्रियाकलापलाई स्क्रिन सँग जोडेर अगाडि बढाउनुपर्ने तर्क पनि राखिन्छ। हामी सामु चुनौतिका चाङहरु छन्।बालबालिकालाई कसरी सामाजिक बनाउने,हाम्रा शास्वत मूल्य मान्यतासँग कसरी परिचित गराउने,अत्यावश्यक जीवनोपयोगी सीपहरु कसरी सिकाउने,सिर्जनशिल कसरी बनाउने वा गरि खाने कसरी बनाउने आदि इत्यादि।
हाम्रा जस्ता विकासोन्मुख देशहरुमा गुणस्तरीय शिक्षाको नाममा शिक्षाको चरम व्यापार भइरहेको छ।धेरैजसो नाम चलेका ठुला शहरबजारका निजी शिक्षण संस्थाहरुले अभिभावकलाई भ्रममा राखेका छन्।उनीहरुको ब्रेनवास गरिएको छ।बालबालिकाहरुलाई यान्त्रिक बनाइएको छ।जसरी हुन्छ रिजल्ट केन्द्रित पढाइ गरिन्छ।ग्रेडसिटमा उच्च ग्रेड ल्याउँदा,ग्रेड सिटमा हाइ मोरल क्यारेक्टर लेखिदा अभिभावक मख्ख पर्छन्।सोह्र श्राद्धमा टिका जमारा लगाइन्छ,कल्चर प्रदर्शनीको नाममा फेसन सो हुन्छ।अभिभावक मख्ख पर्छन! बच्चालाई देखावटी सतही अभिवादनको कला सिकाइन्छ, हाम्रो परम्परागत दुई हात जोडेर गर्ने नमस्कार को सट्टा छातीमा हात राखेर गुड मर्निङ/आफ्टरनुन आदिमा अभ्यस्त पारिन्छ।स्कुलमा कनिकुथि अंग्रेजी बोल्नु पर्ने बाध्यता हुन्छ तर घरमा त्यो वातावरण हुँदैन।अन्ततोगत्व कतिपय बच्चा भाषिक रुपमा अल्पभाषे बन्छ।नत फरर शुद्ध अंग्रेजी बोल्ने, लेख्ने नत पूरा नेपाली !बाच्छो र पाडोको भेद थाहा पाउँदैनन्,दुधको स्रोत डेरीलाई मान्छन्।हाम्रा परम्परागत ज्ञान सीप र प्रविधिको ज्ञान हुनु त टाढा कुरा ।
दुर्भाग्य त्यस्ता शिक्षण संस्थाबाट डिग्री हासिल गरेका विद्यार्थीहरु मध्ये थोरैले मात्र नेपालका उच्च सरकारी र गैरसरकारी पेशामा प्रवेश गर्ने हैसियत राखेको देखिन्छ।
अभिभावकबाट विभिन्न शिर्षकमा चर्को शुल्क उठाइन्छ तर त्यहाँ कार्यरत शिक्षक कर्मचारीको श्रम शोषणको समाचार बाहिर आउँदैन।तिनै शिक्षण संस्थामा बच्चा भर्ना गराउन एडभान्स रकम तिर्नुपर्छ।युरोप,अमेरिका,जापान,कोरिया वा भनौ बैदेशिक रोजगारीमा गएर राम्रो पैसा कमाउने, शहरबजारमा व्यापार व्यवसाय गरि राम्रो कमाइ हुनेले तिनै विद्यालय रोज्छन्।राजनीतिक दलका नेता र कतिपय निजामति कर्मचारीको त कुरौ नगरौँ।
दुर्भाग्य त्यस्ता शिक्षण संस्थाबाट डिग्री हासिल गरेका विद्यार्थीहरु मध्ये थोरैले मात्र नेपालका उच्च सरकारी र गैरसरकारी पेशामा प्रवेश गर्ने हैसियत राखेको देखिन्छ।नत देशमा तिनीहरुले शिक्षामा लगानी गरेअनुसार र अपेक्षा गरेअनुसारको रोजगारी नै प्राप्त हुन्छ।नत स्वरोजगारी र उद्यमी बन्ने संभावना बाकी रहन्छ ! अधिकांश आइएलटिस गरी युरोप,अमेरिका र अष्टेलिया जानुपर्ने बाध्यता छ।फेरी अभिभावकको लगानी बढछ।सन्तान र पुँजी विदेश पलायन,देशको युवा शक्ति पलायन!
विदेशमा यहाँ हासिल गरेको योग्यता अनुसारको जागिर पाउन धेरै कठिन हुन्छ। जे जस्तो काम गरेर भएपनि बिदामा समुद्रको तटमा गएर आइफोनबाट फोटा भिडियो खिच्नैपर्यो,यता बा आमा बाहिर समाजमा स्वरसम्राट नारायण गोपालको गीतमा भनेजस्तो मुटुमाथि ढुंगा राखी हास्नै पर्ने हुन्छ।समाजमा गर्व गर्नैपर्ने हुन्छ।४-६ महिना घुमफिर गर्ने नाममा नातिनातिनाको हेरचाह गर्न जानै पर्यो।अभिभावकले विदेशमा आफ्ना सन्तानले गरेको दुःख देख्छन् – थानेश्वर गौतमको गीतले भनेझै बेचेर सपना मैले रात किनेको छु।केहि समय पछि फेरी आफ्नै देश ,आफ्नै घर-चियापसलमा गफ गर्दा देशमा विकास छैन, रोजगारी छैन,देश सकियो भन्यो आफु निकट राजनितिक दलको वकालत गर्यो, बेलुका छोराछोरीसँग भिडियो च्याट गर्यो समय बित्छ, उमेर ढल्कन्छ, बिरामी परिन्छ,पानी दिने मान्छे हुदैन,पैसाले माया ममता किन्न सकिदैन रैछ!हाल बजारमा चलेको गुणस्तरीय शिक्षाको कमाल यहि होइन र?