नेभिगेशन
कला - साहित्य

जीवन अमूल्य छ

जंगलका खरायाहरू एक प्रकारको गहिरो शोकमा परे । उनीहरूले एउटा बैठकको आयोजना गरे । त्यस बैठकको छलफल देख्दा यस्तो लाग्थ्यो उनीहरू जीवनदेखि वाक्क भईसकेका थिए । उनीहरूमा सुरक्षित जीवनको कुनै आशा थिएन । भएको के थियो भने आफ्नो इमान्दारिता र सोझोपनको कारण खरायाहरूले दिन परदिन गर्दै आफ्ना धेरै साथीहरूको ज्यान गुमाइसकेका थिए । कतिका बाबु थिएनन् । कतिका आमा थिएनन् । कतिले आफ्नो दाजुभाइ र दिदीबहिनीहरू गुमाएका थिए । 'यसरी एक न एक दिन अरूको शिकारनै बन्नुपर्छ भने हामी बाँचेको के नै अर्थ रह्यो र ? यसको सट्टा त बरू सामूहिक आत्महत्या नै उचित हो कि' भन्ने उनीहरूको एउटै सोचाईलाई बैठकले अनुमोदन गर्यो ।

आफ्नो मन्तव्य राख्ने क्रममा एउटा खरायोले भन्यो, “हेर्नुस्, हामीहरू एकदमै नम्र छौं । कोमल र शारीरिक बनोटले पनि आकर्षक छौं । हामीहरू केवल दुबो, घाँस, पात र फलफूलहरूमा निर्भर गछौँ । हामीहरूले कसैको केही बिगारी दिएका छैनौं । हामीहरूले न त कसैलाई चिड्याउँछौँ, न त धोका नै दिन्छौँ । यति हुँदाहुँदै पनि शिकारी चराहरू, बाघ, भालु, स्याल, कुकुर आदि सबै जंगली जनावरहरूले हामीहरूलाई जिउँदै आफ्नो शिकार बनाउँछन् । मान्छेले हामीलाई मारेर आफ्नो आहार बनाउँछ । यसले गर्दा हामीहरूले एकदमै निरीहको जिन्दगी बाँच्नुपरेको छ । हामीहरू डर, भय र त्रासमा बाँच्न विवश पारिएका छौं । हामीहरू वास्तवमै एकदम कमजोर छौं । हामीहरू सबैसँग डराउँछौं तर हामीहरूसँग कोही पनि डराउँदैनन् । हाम्रो यस्तो जिन्दगीको के नै अर्थ रह्यो र ?"

सबै खरायाले पररर ताली बजाए । सबैले उक्त विचारको कदर गरे ।यदि सबै हिंसकहरू मात्र बाँच्ने हो भने हामी बाँच्नको के नै अर्थ रहयो र? उनीहरूले सोचे कि तिनीहरूको जीवन व्यर्थको थियो । यही निराशाको खाडलमा भासिएर एउटा वृद्ध  खरायोले भन्यो, "साँच्चिकै यतिका धेरै तनाब र चिन्तामा बाँच्नुभन्दा त मृत्यु नै उपयुक्त होला । यद्यपि हामी साहसको जिन्दगी बाँच्न सक्दैनौं, आत्म सम्मानित मरण त अपनाउन सक्छौ नि । त्यसैले हे साथीहरू हामीहरू सबैले त्यस पहाडका शिखरबाट खोलामा हाम फालेर सामूहिक आत्महत्या गर्नु नै मुक्तिको सही तरिका ठहर्ला ।"

उक्त प्रस्ताव सबैलाई स्वीकार्य भयो । सबैजना आत्महत्या गर्ने

निर्णयमा राजी भएर खोला नजिकैको पहाडतर्फ लागे । उनीहरूको लस्कर देख्दा लाग्थ्यो त्यहाँ कुनै दौड प्रतियोगिता चलिरहेको थियो । हजारौंको संख्यामा रहेका खरायाहरू लामो सामूहिक लस्करमा अगाडि बढिरहेका थिए । यो देखेर बाटो वरिपरिका चराहरू डराएर उड्थे । बाँदरहरू एक रूखबाट अर्कोमा हामफाल्थे । मुसा, छुचुन्द्राहरू दुलाभित्र लुक्थे ।

किरा-फट्टयांग्राहरू र भ्यागुताहरू सबै आ-आफ्नो सुरक्षित स्थानतर्फ दैडिरहेका देखिन्थे । यसरी आफूहरूलाई देखेर त्यतिका धेरै प्राणीहरू भागेको देखिसकेपछि एउटा खरायो आफ्नो विशाल समूहको अगाडि गयो र सबै साथीहरूलाई सम्बोधन गर्दै भन्यो, "हामीले हाम्रो जीवन व्यर्थको रहेछ भनेर सोच्नु हाम्रो हरूवा मनस्थितिको उपज रहेछ । यहाँका धेरै-धेरै जनावरहरू हामीदेखि डराएर भाग्दा रहेछन् । उनीहरू पनि डरैडरमा बाँचिरहेका रहेछन् । यद्यपि हामीहरूका कारण उनीहरूलाई कुनै खतरा छैन्, उनीहरू भागिरहेका छन् । हामी पनि डराउँछौं, खान्छौं र खाइन्छौं । संसारको रीत नै यस्तै रहेछ । प्रतिक्षा गरौं । धैर्य गरौं र हेरौं। कहीँ कतै सजिलो जीवन जिउन अन्य उपाय पो छ कि !"

सम्बोधनसँगै सामूहिक आत्महत्याको योजना टर्‍यो ।

आजभोलि पनि खरायाहरू प्रशस्त संख्यामा पाइन्छन् । आत्महत्या समस्याको निकास होइन । कमजोरीको उपज मात्र हो । जीवन आशा हो र त यो अमूल्य छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्