नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
सम्पादकीय

सामाजिक सञ्जालको सदुपयोग आवश्यक

आजको डिजिटल युगमा सामाजिक सञ्जाल जनजीवनको अभिन्न हिस्सा बनेको छ। सूचनाको आदान–प्रदान, विचारको अभिव्यक्ति, जनचेतनाको प्रसार जस्ता कुरामा यसले ठूलो भूमिका खेलेको छ। यति हुँदाहुँदै पनि यसको दुरुपयोग दिनप्रतिदिन बढ्दो छ।

सामाजिक सञ्जालमा अस्लिल, असभ्य र अराजक भाषा शैलीको प्रयोग सामान्यजस्तै देखिन थालेको छ। मिथ्या सूचना र अफवाहको बाढीले सामाजिक सद्भाव र व्यक्तिको सम्मानमा समेत आँच पुर्‍याउने अवस्था छ। यस्ता गतिविधिले सामाजिक मूल्य–मान्यता र जिम्मेवार अभिव्यक्तिको संस्कृतिमा चोट पुर्‍याएको छ।

सबैभन्दा चिन्ताजनक पक्ष त जनप्रतिनिधिहरूको व्यवहार हो। नगर प्रमुख वा उप–प्रमुखजस्ता जिम्मेवार व्यक्तिहरू कार्यालय समयमै टिकटक वा फेसबुकमा रमाइला भिडियो बनाउन व्यस्त देखिन्छन्। यस्तो प्रवृत्तिले उनीहरूको पदको गरिमा मात्र खुम्च्याउँदैन, सार्वजनिक महत्वका विषयहरू पनि ओझेलमा पार्दछ।

सार्वजनिक महत्त्वका सूचना, जानकारी र गतिविधि प्रकाशन गर्नुपर्ने सरकारी कार्यालय, स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयका सामाजिक संजालका  पेजमा समेत व्यक्तिगत प्रचारबाजी बढी हुने सामाग्री प्रकाशन हुनु गलत हो।

सामाजिक सञ्जालको प्रभावलाई सकारात्मक बनाउने जिम्मेवारी सबै नागरिकको हो। विशेषगरी राजनीतिक नेतृत्व, जनप्रतिनिधि, सञ्चारकर्मी र सामाजिक अभियन्ताहरूले सामाजिक सञ्जालमा सभ्य, सन्तुलित र तथ्यमा आधारित भाषा प्रयोग गर्नुपर्छ। जनताको सरोकारका विषयलाई प्राथमिकतामा राखी सकारात्मक सन्देश फैलाउन सकिन्छ।

त्यसैले, अब सामाजिक सञ्जाललाई गम्भीर र जिम्मेवार बनाउने समय आएको छ। नागरिक सचेतना र नेतृत्वको सकारात्मक भुमिकाबाट मात्रै सामाजिक सञ्जालको सदुपयोग सुनिश्चित गर्न सकिन्छ। आधुनिक प्रविधिको यो उपहारलाई सजग र सन्तुलित ढंगले प्रयोग गरौं।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्