नेभिगेशन
सम्पादकीय

पर्यटकीय स्थलको सही व्यवस्थापन गर

स्याङ्जा जिल्ला प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र ऐतिहासिक महत्त्वले भरिएको एउटा अथाह पर्यटकीय सम्भावनायुक्त जिल्ला हो। यहाँका रमणीय स्थल, परम्परागत जीवनशैली र मौलिक संस्कृतिले धेरै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने क्षमता राख्दछन्। सिरूवारी  होमस्टे लगायतका दर्जनौं स्थानमा सञ्चालित होमस्टे, प्याराग्लाइडिङको लागि चर्चित स्वरेक मैदान, थाप्ले, सुन्दरचौर, गह्रौसूर, बाहुनथानजस्ता दृश्यावलोकन तथा वनभोजका लागि उपयुक्त स्थलहरूले स्याङ्जाको पर्यटनको समृद्ध भविष्य देखाउँछन्।

तर यति धेरै सम्भावना हुँदाहुँदै पनि यहाँका पर्यटकीय स्थलहरू समस्याबाट अछुतो छैनन्। सरसफाइको अभाव, प्लास्टिकजन्य तथा सिसाजन्य फोहर यत्रतत्र फालिनु आम रूपमा  देखिएको समस्या हो। केही स्थानहरू लागूऔषध, धूम्रपान तथा मद्यपान गर्ने  र अबान्छित गतिविधि गर्ने व्यक्तिहरूको रोजाइमा पर्न थालेका छन्, जसले  सामाजिक , सांस्कृतिक र धार्मिक पक्षहरूमा समेत नकारात्मक प्रभाव पारिरहेको छ।

त्यस्तै, पर्यटकलाई सहजता प्रदान गर्ने पूर्वाधारहरू—जस्तै, सडक, बिजुली, खानेपानी, पदमार्ग आदिको अभाव छ, भने भएका संरचनाहरूको संरक्षण र सदुपयोगसमेत हुन सकेको छैन। मौलिकपन झल्कनुपर्ने स्थानहरूमा अत्यधिक आधुनिकता देखिन थालेको छ, जसले स्थानीय संस्कृति नै मेटिँदै गएको आभास दिन्छ। फोहोरमैला व्यवस्थापनमा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको वालिङ नगरपालिकाको चर्चित पर्यटकीय स्थल बाहुनथानमा फोहमैलाको सहि व्यवस्थापन नहुँदा कुरूप बन्दै गएको छ।

यी समस्याको समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकारको समन्वय आवश्यक छ। पर्यटकीय स्थल वरिपरि फोहरमैला व्यवस्थापन प्रणाली सञ्चालन गर्न सकिन्छ। सरसफाइका लागि समुदायमै आधारित कार्यक्रम सञ्चालन गरेर जनचेतना फैलाउन सकिन्छ। पर्यटकीय क्षेत्रमा लागूऔषध, धूम्रपान र मद्यपान निषेध गर्ने कडा नियम लागू गरिनुपर्छ। मौलिकता झल्किने संरचना बनाउने तथा पुराना सांस्कृतिक सम्पदाहरूको संरक्षण गर्नु जरुरी छ। अन्य क्षेत्रको तुलनामा भीरकोट नगरपालिकाद्वारा संचालित भीरकोट पार्क व्यवस्थापकीय दृष्टिकोणले उत्कृष्ट छ। यो पार्क पर्यटकीय क्षेत्र व्यवस्थित गर्न चाहने  अन्य स्थानीय सरकारको लागि उपयुक्त उदाहरण हुन सक्छ।

स्याङ्जाको  हावापानीलाई ध्यानमा राखी विभिन्न प्रकारका फूल, जडीबुटी र बोटबिरुवाहरू रोपेर  पर्य्टकीय क्षेत्रहरूलाई अझ सुन्दर र शान्त बनाउन सकिन्छ। कम्तिमा १०० जना अट्ने सभाहल निर्माण गरी अन्तरक्रिया, बनभोज, सांस्कृतिक कार्यक्रम जस्ता गतिविधि व्यवस्थित रुपमा गर्न सकिन्छ। यसले पर्यटकको बसाइ लामो बनाउनेछ र स्थानीय आम्दानीमा समेत वृद्धि हुनेछ।

व्यवस्थित पर्यटनले सरकारी राजस्व वृद्धि मात्र होइन, स्थानीयलाई रोजगारीको अवसर समेत सिर्जना गर्छ। त्यसैले स्याङ्जाका पर्यटकीय स्थलहरूलाई संरक्षण गर्दै व्यवस्थित बनाउनेतर्फ सबैको ध्यान जानु आवश्यक छ। पर्यटन सम्भावनालाई व्यावसायिक रूपमा प्रयोग गरेर देशको समृद्धिमा योगदान पुर्‍याउने समय यही हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय